आर्थिक बिधेयक २०८३ ले गरेका भारी छुट तथा सहुलियतहरु

By

आयकरको ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष ब्यवस्था:

(१) कुनै व्यक्तिले विगतमा स्थायी लेखा नम्बर नलिई कर लाग्ने आय आर्जन गरी आयकर दाखिला नगरेको भएमा त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक बर्ष २०७९।८० देखी २०८२।८३ सम्मको आय बिबरण २०८३ पुष मसान्तसम्ममा दाखिला गरी सो बमोजिम लाग्ने कर दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज रकम मिनाहा हुनेछ र सो भन्दा अगाडीको आय बर्षहरुको आय बिबरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज समेत बुझाउनु पने छैन।

(२) विगतमा स्थायी लेखा नम्बर लिई करको दायरामा आईसकेका, तर कुनै आय आर्जन वा कारोवार नगरेका करदाताले आर्थिक बर्ष २०८१।०८२ वा सो भन्दा अघि देखिको आय बिबरण दाखिला नगरेको भए त्यस्तो ब्यक्तिले दर्ता खारेज गर्न वा कारोवार सञ्चालन गरी सक्रिय हुन चाहेमा आव २०८२।०८३ को आय बिवरण तथा सो बमोजिमको कर दाखिला गरी २०८३ पुस मसान्त भित्र दर्ता खारेजी वा कारोवार सुचारु गर्न निवेदन दिएमा सो भन्दा अघिको आर्थिक बर्षहरुको आय बिवरण दाखिला गर्नुपर्ने छैन ।

(३) आयकर ऐन, २०५८ बमोजिम स्थायी लेखा नम्बर लिई आय आर्जन गरी कर तथा बिबरण बुझाउन बाँकी रहेका ब्यक्तिले त्यस्तो कर र सोको एक प्रतिशतले हुने थप रकम तथा आय बिबरण २०८३ पुष मसान्तभित्र बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ ।

मुल्य अभिवृद्धि करको जरिवाना र व्याज मिनाहा सम्बन्धी विशेष व्यवस्थाः

(१) मूल्य अभिबृद्धि करमा दर्ता भएका ब्यक्तिले बिगतमा कर लाग्ने कारोवार गरी मूल्य अभिबृद्धि कर संकलन र दाखिला नगरेको भएमा संकलन गर्नुपर्ने कर र सोको एक प्रतिशते हुने थप रकम २०८३ पुष मसान्तसम्म दाखिला गरी २०८२ चैत्र सम्मको कर विवरण पेश गरेमा ब्याज, थप दस्तुर तथा जरिवाना रकम मिनाहा हुनेछ ।

(२) मूल्य अभिबृद्धि करमा दर्ता भएका ब्यक्तिले बिगतमा कर लाग्ने कारोवार गरी मूल्य अभिबृद्धि कर संकलन गरेका तथा कर बिबरण पेश नगरेको भए २०८२ चैत्र सम्मको कर बिबरण २०८३ पुष मसान्त सम्म दाखिला गरी बिबरण अनुसारको कर र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गरेमा ब्याज, थप दस्तुर तथा जरिवाना रकम मिनाहा हुनेछ ।

अन्तःशुल्कको जरिवाना र विलम्ब शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्थाः

अन्तःशुल्क ऐन, २०५८ बमोजिम इजाजतपत्र लिई तोकिएको अवधि भित्र नबिकरण नगराउने इजाजतपत्रवालाले इजाजनपत्र नविकरण गराई कारोवारलाई निरन्तरता दिन चाहेमा २०८३ असोज मसान्तभित्र आव २०८२।०८३ को लागि नबिकरण बापत बुझाउनु पर्ने दस्तुर बुझाई नबिकरण गरेमा बाँकी आ.ब.हरुको लाग्ने नबिकरण दस्तुर र जरिवाना मिनाहा हुनेछ । सो अवधिभित्र नबिकरण नगराउने इजाजतपत्रवालाको इजाजतपत्र स्वतः खारेज हुनेछ ।

कम्पनी ऐन २०६३ बमोजिम लाग्ने कर, शूल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा सम्बन्धी व्यवस्थाः

कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले म्याद भित्र बिबरण पेश नगरेको, नबिकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोवार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आ.ब. २०८२।०८३ को लागि कानुन बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा बिबरण २०८३ असोज मसान्तभित्र पेश गरेमा सो भन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना मिनाहा हुनेछ ।

संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका वा अन्य संस्थालाई कर, ब्याज तथा शूल्क मिनाहा सम्बन्धी बिशेष व्यवस्थाः

संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको संस्था आयकर ऐन, २०५८ बमोजिम कर छुट पाउने संस्थाको रुपमा दर्ता भएको वा नभएको भए तापनि त्यस्तो संस्थाले २०८३ पुष मसान्तभित्र आ.व. २०८२।८३ को आयबिबरण दाखिला गरेमा सो आ.व. र सो भन्दा अगाडि संस्थाले प्राप्त गरेको दान, चन्दा उपहार बापतको रकमबाट सिर्जित करयोग्य आयमा लाग्ने कर, ब्याज तथा शुल्क मिनाहा हुनेछ । त्यस्तो संस्थाले प्राप्त गरेको दान, चन्दा तथा उपहार बापतको रकम मात्र आय भएमा आय बिबरण समेत पेश गर्नुपर्ने छैन ।

प्रादेशिक ब्यापार तथा व्यासायको लागि छुट सम्बन्धी बिशेष व्यवस्थाः

ब्यावसायिक फर्म दर्ता गरी नबिकरण नगरेका उद्योग, फर्म (प्राईभेट र साझेदारी) र ब्यावसायले २०८३ पुष मसान्तसम्म आ.ब. २०८२।८३ सम्मको लाग्ने नबिकरण शुल्क दाखिल गरी नविकरण गरेमा आ.व. २०८१।८२ भन्दा अगाडिका बर्षहरुमा लाग्ने जरिवाना छुट हुनेछ ।